तातोपानी नाका पूर्ण सञ्चालनका लागि चीनसँग उच्चस्तरीय वार्ता गर्न माग
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १०:४८
shares

काठमाडौं, २७ कात्तिक। भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको नेपाल–चीनको प्रमुख व्यापारिक नाका तातोपानीलाई पूर्ण क्षमतामा खुलाउन कूटनीतिक पहल तीव्र बनाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा सहभागी वक्ताहरूले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन संघीय सरकारले उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता थियो। उनीहरूले संघीय राजधानी काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्रै सञ्चालन हुँदा व्यवसायी र स्थानीय बासिन्दा प्रभावित भएको बताए।
नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट अपेक्षित कूटनीतिक चासो नदेखिएको भन्दै उनीहरूले तत्काल प्रभावकारी पहल गर्नुपर्ने धारणा राखेका थिए।
चिनियाँ पक्ष नाका सञ्चालन गर्न सकारात्मक
कार्यक्रममा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकारसमेत रहेका परराष्ट्रविद् डा. रूपक सापकोटाले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरेर फर्किएको जानकारी गराएका थिए।
नेकपाका नेता सापकोटाले चिनियाँ नेतृत्वसँगको भेटमा नाका पुनः सञ्चालनको विषयलाई प्राथमिकताका साथ उठाइएको बताए। उनका अनुसार चिनियाँ पक्षले पनि यस विषयलाई गम्भीरतापूर्वक लिँदै तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा सकारात्मक धारणा व्यक्त गरेको छ।
चिनियाँ पक्षले सम्भावित बाढी, हिमताल विस्फोटबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिम तथा नाकानजिकैको ‘इको पहिरो’ का कारण सडक पटक–पटक अवरुद्ध हुने समस्याबारे नेपालको धारणा र तयारीमा चासो राख्ने गरेको उनले बताए।
छलफलमा भोटेकोशी बाढीपछि सीमा क्षेत्रका बस्ती र पूर्वाधार जोखिममा रहेको सन्देश प्रवाह भएकाले त्यसको उचित समाधान खोज्नुपर्ने विषय पनि उठेको थियो। विपद् व्यवस्थापन र भौतिक पूर्वाधार सुधारका लागि ठोस काम गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
नदी किनारका बस्तीमा पूर्वसूचना प्रणाली जडान गरिने
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहायत्री पौडेलले प्रदेशभित्रका हिमनदीबाट मुहान भई बग्ने नदी किनारका बस्तीको सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न लागेको जानकारी दिए।
भोटेकोशी बाढीजस्ता विपत्ति भविष्यमा दोहोरिन नदिन र नदी किनारका बासिन्दालाई जोखिमको त्रासमा बस्नुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको उनको भनाइ थियो।
नेपाल–चीन मामिलाका जानकार परराष्ट्रविद् डा. सापकोटाले तातोपानी नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न उच्चस्तरीय कूटनीतिक पहलसँगै दुई देशबीच आपसी विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताए।


















