बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानी प्रस्ताव, गृहमन्त्री गुरुङले गरे छलफल
वि.सं.२०८३ कात्तिक २९ आइतवार ०९:५९
shares

काठमाडौं, २९ कात्तिक। गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जायुदीसँग भेटवार्ता गरेका छन् ।
अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको हो ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालको बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीका लागि प्रस्ताव गरेका छन् । त्यसैगरी कृषि तथा सेवा क्षेत्रमा समेत दुई देशबीच सहकार्य र लगानीका सम्भावनाबारे उनले चर्चा गरेका थिए ।
गुरुङले सुरक्षा प्रविधिको क्षेत्रमा पनि सहकार्य गर्न सकिने सम्भावना औंल्याएका छन् । विशेषगरी फेसलेस पुलिसिङ (प्रत्यक्ष सम्पर्कबिनाको प्रहरी सेवा), गैरघातक सुरक्षा उपकरणको प्रयोग तथा नेपालको सुरक्षा निकायको आधुनिकीकरणका विषयमा उनले यूएईसँग सहकार्यको प्रस्ताव राखेका हुन् ।
भेटवार्तामा दुवै पक्षले प्रस्तावहरू औपचारिक रूपमा आदानप्रदान गर्दै आवश्यक प्रक्रिया अघि बढाउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन् ।
नेपाल र यूएईबीच व्यापार, लगानी तथा सुरक्षा सहकार्यलाई थप विस्तार गर्ने दिशामा यो भेटवार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।















