Dhulikhel Eco Banner new

घोराही सिमेन्टको घाटा १६ करोडमाथि, आम्दानी पनि घट्यो

637
shares

काठमाडौं, ३० कात्तिक। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड (GCIL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी थप बढेको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा १६ करोड १५ लाख रुपैयाँ खुद नोक्सानी भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीको खुद नोक्सानी १२ करोड ८० लाख रुपैयाँ रहेको थियो।

वर्षायामका कारण निर्माण गतिविधिमा आएको सुस्तता, सिमेन्टको मागमा कमी तथा बजारमा बढेको मूल्य प्रतिस्पर्धाले कम्पनीको वित्तीय अवस्था प्रभावित भएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी घटेर ८७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

यस अवधिमा बिक्री लागत ७३ करोड १३ लाख रुपैयाँ रहेको छ। उक्त लागत कटाएपछि कम्पनीको कुल मुनाफा १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको वित्तीय खर्च भने अघिल्लो वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ६३ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १३ करोड ३३ लाख रुपैयाँमा झरेको छ। वित्तीय खर्च घटे पनि सञ्चालन आम्दानीमा आएको कमी र अन्य खर्चको दबाबका कारण कम्पनी नोक्सानीबाट बाहिरिन सकेको छैन।

घोराही सिमेन्टको चुक्ता पूँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा तथा कोषमा ३ अर्ब ११ करोड ८९ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। यससँगै कम्पनीको कुल इक्विटी ८ अर्ब ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४२० रुपैयाँ ८३ पैसा रहेको छ।