Dhulikhel Eco Banner new

नेको इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा सुधार, घाटा भने कायमै

559
shares

काठमाडौं, ३० कात्तिक। नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बीमाशुल्क आर्जन बढाउन सफल भएको छ। यद्यपि, कम्पनीको खुद नोक्सानी भने कायमै रहेको छ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ८ करोड १८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। यसअनुसार कम्पनीको नोक्सानीमा सामान्य सुधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले कुल ५७ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीको कुल बीमाशुल्क आर्जन ९.०१ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। चालु आर्थिक वर्षको असोजसम्म ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २९ करोड ५४ लाख रुपैयाँ संकलन गरेको थियो। यससँगै खुद बीमाशुल्क आर्जन १५.२२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको बीमा कोषको आकार पनि विस्तार भएको छ। समीक्षा अवधिमा बीमा कोषमा ५ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार बीमा कोष १९.६९ प्रतिशतले बढेको छ।

नेको इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको छ। कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ३५ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस १२ रुपैयाँ ३५ पैसा ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२३ रुपैयाँ २६ पैसा रहेको छ।