प्रभु इन्स्योरेन्सको नाफा ५.८ प्रतिशतले बढ्यो, बीमा कोषमा ३ अर्ब ८५ करोड
वि.सं.२०८३ कात्तिक ३० सोमवार १०:५१
shares

काठमाडौं, ३० कात्तिक। प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा र बीमाशुल्क आर्जन दुवैमा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.८० प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.५१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म ३५ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै, खुद बीमाशुल्क आर्जनमा अझ बढी वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क चालु आर्थिक वर्षको असोजसम्म बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ४७.२५ प्रतिशतको वृद्धि हो।
कम्पनीको बीमा कोषको आकार पनि उल्लेख्य रूपमा विस्तार भएको छ। समीक्षा अवधिसम्म बीमा कोषमा ३ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब १६ करोड ४० लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको बीमा कोष २१.८० प्रतिशतले बढेको छ।
प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ८७ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४५ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस १४ रुपैयाँ ८५ पैसा रहेको थियो। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.१७ गुणा र प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा रहेको छ।
















