Dhulikhel Eco Banner new

युनाइटेड अजोड इन्स्योरेन्सको घाटा घट्यो, बीमाशुल्क आर्जन ३७ प्रतिशत बढ्यो

1.53K
shares

काठमाडौं, ३० कात्तिक। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ५ करोड २९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको घाटा ६५ प्रतिशतले घटेको छ।

कम्पनीको चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा ५६ करोड २२ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ १ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १४ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड ११ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ३७ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको बीमा कोष ५.९५ प्रतिशतले घटेको छ।

यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन ३६.९९ प्रतिशतले बढेको छ।

त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले ३४ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २४ करोड ५५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ४१।०३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.०३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ईपीएस २६.१८ रुपैयाँले ऋणात्मक थियो। यसले कम्पनीको प्रतिशेयर घाटामा सुधार आएको देखाउँछ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६३.३८ रुपैयाँ रहेको छ।

यसरी कुल तथा खुद बीमाशुल्क आर्जनमा वृद्धि भए पनि कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोरेको छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा घाटा उल्लेख्य रूपमा घटाउन कम्पनी सफल भएको छ।