Dhulikhel Eco Banner new

एनपीएल पहिलो क्वालिफायर : सिधै फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिम भिड्दै

247
shares
कीर्तिपुर — तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उपाधि भिडन्तको पहिलो समीकरण तय गर्न आज मङ्गलबार साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ। लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको सुदूरपश्चिम अघिल्ला दुई संस्करणमा उपविजेतामै सीमित भएको पीडा भुलाउँदै उपाधि नजिक पुग्ने दाउमा छ भने लुम्बिनी आफ्नो उपाधि रक्षाको यात्रालाई सहज बनाउने लक्ष्यमा छ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुईमा अटाएका यी दुवै टोली लयमा देखिएका छन्। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ७ खेलमध्ये ५ जित, १ हार र १ खेलमा अङ्क बाँड्दै ११ अङ्कका साथ शीर्षस्थान हासिल गरेको हो। उता दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम ५ जित र २ हारबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायर पुगेको हो। सुरुवाती तीन खेलमा दुई हार बेहोरेर दबाबमा परेको सुदूरपश्चिमले त्यसयता लगातार चार खेलमा जित निकाल्दै सानदार पुनरागमन गरेको थियो।
एनपीएल इतिहासमा यी दुई टोलीबीच हालसम्म भएका चार भेटमा दुवैले समान दुई–दुई खेल जितेका छन्। यद्यपि, अघिल्लो संस्करणको फाइनल र जारी सिजनको उद्घाटन खेलमा सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेकाले लुम्बिनी मनोवैज्ञानिक रूपमा केही बलियो देखिन्छ। लुम्बिनीको टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, डी’आर्सी सर्ट, निरोशन डिकवेला, शेर मल्ल र किशोर महतो जस्ता भरपर्दा खेलाडी छन्। सुदूरपश्चिमका लागि भने १५० रन बनाइसकेका कप्तान दीपेन्द्र ब्याटिङमा र १० विकेट लिएका अनिल खरेल बलिङमा मुख्य हतियार बनेका छन्।
आजको खेलमा पराजित हुने टोलीका लागि पनि फाइनल पुग्ने ढोका बन्द हुने छैन। पराजित टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा पुन: प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ, जहाँ बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटर खेलको विजेतासँग उसको भेट हुनेछ।