हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८३ मंसिर १ मंगलवार ०७:३१
234
shares
shares

काठमाडौं — हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि खुलाएको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (मंसिर १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक ११ गतेदेखि स्थानीय बासिन्दाहरूको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले आफ्नो कुल जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर छुट्याइएको छ।
कुल स्थानीय कोटाबाट दोलखा जिल्लाको अति प्रभावित क्षेत्रतर्फ बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७, ८ र कालिन्चोक गाउँपालिकाका वडा नं. २, ३, ४ का बासिन्दाहरूलाई १० लाख १४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता भने ती दुवै गाउँपालिकाका अन्य वडाहरूका स्थायी बासिन्दाहरूले प्राप्त गर्नेछन्।
यस आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
आवेदन संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकका सिंगटी शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालय तोकिएका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला १ जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ।

















