Dhulikhel Eco Banner new

विराटनगरमा रात्रिकालीन व्यवसायलाई खुला, पब र डिस्को राति २ बजेसम्म सञ्चालन गर्न पाइने

1.12K
shares

काठमाडौं, २ मंसिर । मोरङ जिल्ला प्रशासन कार्यालयले होटल, रेस्टुरेन्ट तथा मनोरञ्जनस्थललाई राति अबेरसम्म सञ्चालन गर्न अनुमति दिएसँगै विराटनगरको रात्रिकालीन व्यवसाय थप चलायमान हुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार रेस्टुरेन्ट, चिया पसल तथा अन्य सामान्य व्यवसाय मध्यरात १२ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै, पब, डिस्को, डान्स क्लब तथा लाइभ म्युजिक हुने मनोरञ्जनस्थलले आवश्यक पूर्वस्वीकृति लिएर राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।

जिल्ला प्रशासनले व्यवसाय सञ्चालनका लागि सुरक्षा मापदण्डसमेत अनिवार्य गरेको छ । व्यवसायीले सीसीटीभी क्यामेरा जडान, पर्याप्त प्रकाशको व्यवस्था, आगलागी नियन्त्रणका उपकरण तथा पर्याप्त पार्किङको व्यवस्था गर्नुपर्नेछ ।

रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको प्रशासनले जनाएको छ ।

यस व्यवस्थाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय व्यवसायीको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयदेखि व्यवसाय सञ्चालनको समयावधि बढाउन माग गर्दै आएका विराटनगरका व्यवसायीले पनि यसबाट राहत पाउने विश्वास गरिएको छ ।