ग्लोबल आइएमई लघुवित्तको १४औँ वार्षिक साधारण सभा मंसिर २३ गते बस्ने
वि.सं.२०८३ मंसिर २ बुधवार १०:४०
shares

काठमाडौं, २ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले १४औँ वार्षिक साधारण सभा मंसिर २३ गते बुधबार आयोजना गर्ने भएको छ। संस्थाले पोखरास्थित आईएमई हस्पिटालिटी प्रा.लि., स्ट्रीट नं. ३, लेकसाइड, कास्कीमा बिहान ९ बजे सभा बोलाएको हो।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्ने कार्यसूची रहेको छ। प्रस्तावअनुसार संस्थाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
त्यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
यसका अतिरिक्त, सभाले लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते एक दिन शेयर दाखिला खारेज ९बुक क्लोज० गर्ने निर्णय गरेको छ। बुक क्लोजको अघिल्लो दिन अर्थात् मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरू प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
उक्त लाभांश वितरण भने साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।

















