आशुतोष इनर्जीले मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्ने
वि.सं.२०८३ मंसिर ३ बिहीवार १२:३८
shares

काठमाडौं, ३ मंसिर । आशुतोष इनर्जी लिमिटेडले आगामी मंसिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा ६ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिनेछ। उक्त क्षेत्रअन्तर्गत लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ रहेका छन्।
बाँकी ३ लाख कित्ता शेयर अति प्रभावित क्षेत्रबाहेक दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
त्यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने शेयरमध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिने म्याद कायम रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने मंसिर १७ गतेसम्म प्रारम्भिक आवेदन अवधि तोकिएको छ। उक्त अवधिमा शेयर बिक्री नभए मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बामार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सी–आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाका शाखा, आयोजना कार्यालय तथा तोकिएका बैंक शाखामार्फत आवेदन दिन सक्नेछन्। आवेदन संकलनका लागि ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखा तोकिएको छ।

















