आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी मंसिर ४ देखि, दैनिक ५० जनालाई उपहार दिइने
वि.सं.२०८३ मंसिर ३ बिहीवार १२:५९
shares

काठमाडौं, ३ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ। नोभेम्बर २० देखि २२, २०२६ सम्म सञ्चालन हुने प्रदर्शनीमा सहभागी अवलोकनकर्तामध्ये प्रत्येक दिन ५० जनालाई लक्की ड्रमार्फत कृषि सामग्री तथा उपकरण प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार लक्की ड्रबाट छनोट भएका विजेताले कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, विद्युतीय मकै छोडाउने मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्राप्त गर्नेछन्। प्रदर्शनीको अन्तिम दिन लक्की ड्रका प्रमुख विजेतालाई मिनी ट्रेलर प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ।
‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुन लागेको प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण राख्ने आयोजकको योजना छ।
प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह तथा शीतभण्डारणसम्बन्धी प्रविधि प्रदर्शन गरिनेछ। यसका साथै आधुनिक कृषि उत्पादन तथा यान्त्रीकरणसँग सम्बन्धित विभिन्न उपकरण र प्रविधिबारे जानकारी दिइने आयोजकले जनाएको छ।
कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजकका रूपमा रहनेछ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। आयोजकले प्रदर्शनी अवधिभर ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरेको छ।
प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी तथा सरोकारवालालाई कृषि यान्त्रीकरण र प्रविधिसम्बन्धी उपकरण अवलोकन गर्ने अवसर उपलब्ध हुने आयोजकको भनाइ छ।

















