अनलाइन वित्तीय ठगीमा परे तत्काल १२४७ मा उजुरी गर्न राष्ट्र बैंकको आग्रह
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:२३
286
shares
shares

काठमाडौँ — डिजिटल माध्यमबाट हुने वित्तीय ठगी नियन्त्रण तथा पीडितको रकम तत्काल जोगाउने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ को हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । फिसिङ, नक्कली लिङ्क र अनधिकृत कारोबारजस्ता साइबर ठगीमा परे बिनाढिलाइ चौबिसै घण्टा खुला रहने उक्त नम्बरमा उजुरी दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरो, सामाखुशीमा स्थापना गरिएको यस केन्द्रमा प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरू एउटै कक्षबाट परिचालित छन् । यसअघि पीडितले प्रहरी, बैंक र वालेट कम्पनीमा छुट्टाछुट्टै धाउनुपर्दा समन्वयमा ढिलाइ भई ठगिएको रकम रोक्का गर्न कठिन हुने गरेको थियो । अब भने एउटै छातामुनि सरोकारवाला निकाय रहेकाले उजुरी पर्नेबित्तिकै शङ्कास्पद खाता रोक्का गर्न र अनुसन्धान अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय केवाईसी अद्यावधिक गर्ने, चिठ्ठा परेको प्रलोभन देखाउने र नक्कली लिङ्क पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन राष्ट्र बैंकले सुझाव दिएको छ । ठगीको शङ्का लाग्नासाथ १२४७ मा खबर गर्नुका साथै सम्बन्धित बैंक वा वालेट कम्पनीमा कारोबारको विवरण, समय र शङ्कास्पद लिङ्कसहित जानकारी गराउन बैंकले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

















