चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:२१
234
shares
shares

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कार्यालयले ती कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कार्यालयका अनुसार दुई वर्षका लागि कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा र बाँकेको आदित्य सप्लायर्स रहेका छन् । सडक डिभिजन चौरजहारीको सिफारिसमा शान्तबहादुर बस्नेत मुख्य व्यक्ति रहेको मालिका बस्नेत निर्माण सेवा तथा सडक डिभिजन महेन्द्रनगरको सिफारिसमा हरिस सिंह बुढाल सञ्चालक रहेको पञ्चकोटी निर्माण सेवा कारबाहीमा परेका हुन् । यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा लिला देवी शाह मुख्य व्यक्ति रहेको नेपालगन्ज–१० स्थित आदित्य सप्लायर्सलाई पनि दुई वर्षकै लागि कालोसूचीमा राखिएको छ ।
यसैगरी, सुरेश पण्डित मुख्य व्यक्ति रहेको काठमाडौँ सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालि एक वर्षका लागि कालोसूचीमा परेको छ । उक्त कम्पनीलाई नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा कारबाही गरिएको हो । कालोसूचीमा परेसँगै यी चारवटै कम्पनीले तोकिएको अवधिभर कुनै पनि सरकारी तथा सार्वजनिक निकायको ठेक्कापट्टा र खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
















