Dhulikhel Eco Banner new

सेयर बजार : प्राविधिक चार्टमा ‘स्पिनिङ टप’, कता जाला नेप्से ?

507
shares
काठमाडौं । नियामक निकायका नीतिगत लचकता र प्रविधिमैत्री सुधारका प्रयासका बाबजुद सेयर लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन सकेको छैन । लगातार तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक बिहीबार ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा उक्लिए पनि कारोबार रकममा आएको संकुचनले आजको बजार कुन दिशामा जाला भन्ने कौतूहल बढाएको छ ।
बिहीबार परिसूचक हरियो बन्दा समेत कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँले घटेर ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँमा खुम्चिएको थियो । कारोबारमा आएका १३ उपसमूहमध्ये पाँचवटा मात्र बढ्नु र आठवटा राताम्मे रहनुले बजारमा अझै व्यापक खरिद चाप सिर्जना भइनसकेको देखाउँछ । यस दिन एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार हुँदा बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाए भने एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै घट्यो ।
बिहीबार बजार बन्द हुँदा बनेको दैनिक (डे) चार्टलाई विश्लेषण गर्दा नेप्से अहिले अत्यन्तै संवेदनशील र निर्णायक विन्दुमा उभिएको देखिन्छ । चार्टमा सानो हरियो बडी र माथि–तल दुवैतर्फ लामो धर्सा भएको ‘स्पिनिङ टप’ क्यान्डल बनेको छ । निरन्तरको गिरावटपछि तल्लो विन्दुमा यस्तो क्यान्डल बन्नुले क्रेता र बिक्रेताबीच तीव्र रस्साकस्सी चलिरहेको र बजार अनिर्णयको बन्दी बनेको संकेत गर्छ । यसले बिक्री चाप केही मत्थर भएको देखाए पनि आज खरिदकर्ता हाबी हुन्छन् वा विक्रेता भन्ने कुरा शुरुआती कारोबारले तय गर्नेछ ।
प्राविधिक सूचकहरू (इन्डिकेटर) ले भने आज पनि लगानीकर्तालाई केही सतर्क रहन संकेत गरेका छन् । इचिमोकु क्लाउडअनुसार नेप्से बादलभित्र तल्लो भागमा छ भने बोलिङ्गर ब्यान्डको मध्यम रेखा (२६४०.६५) भन्दा तलै खुम्चिएको छ । यस्तै, १४ दिने आरएसआई ४८.३४ को तटस्थ जोनमा रहनु र एमएसीडी नकारात्मक जोनमै रहनुले बजारमा तत्कालै आक्रामक उछाल आइहाल्ने बलियो आधार बनिनसकेको पुष्टि गर्छ ।
विश्लेषकहरूका अनुसार निरन्तरको गिरावटपछि नेप्से तल्लो विन्दु अर्थात् ‘बटम’ को आसपासमा आइपुगेको छ । आजको कारोबारमा नेप्से ओरालो लागेमा २६०२.३९ विन्दु मा तत्कालको पहिलो बलियो टेवा (सपोर्ट) रहेको छ । यदि यो विन्दु भत्किएमा बजारले २५५१.९९ सम्मको यात्रा तय गर्न सक्छ ।
अर्कोतर्फ, आज बजार सकारात्मक बनेर उकालो लागेमा २६४० देखि २६५३ विन्दु मा मुख्य प्राविधिक अवरोध छ । नेप्सेले उच्च कारोबार रकम (भोल्युम) सहित यो अवरोध पार गर्न सकेमा मात्र २६७६.५२ को लक्ष्यतर्फ अघि बढ्दै बजारमा दिगो सुधारको बाटो खुल्ने देखिन्छ ।