Dhulikhel Eco Banner new

लागुऔषध कारोबारमा संलग्न १७ जना पक्राउ

819
shares

काठमाडौं, ४ मंसिर । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जना पक्राउ परेका छन् । प्रहरीले झापा र कास्कीसहितका जिल्लामा लागुऔषध नियन्त्रण अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–८ बसन्त मार्गबाट खैरो हेरोइन १ ग्राम ४७० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–६ घर भई दमक–८ मा डेरा गरी बस्ने २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरूको कोठा तलासी गर्दा मनिषको कोठाबाट १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइन र १५ हजार रुपैयाँ तथा डिकबहादुरको कोठाबाट १४० मिलिग्राम लागुऔषध र १२ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापाकै शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट ७३० मिलिग्राम ब्राउनसुगरसहित दमक नगरपालिका–७ का ३९ वर्षीय भीम सागर न्यौपाने पक्राउ परेका छन् । उनलाई प्रहरीचौकी धरमपुरबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

यसैगरी, कास्कीको पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित रोयल थकाली किचन होटलबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङका २९ वर्षीय मिलन राई रहेका छन् ।

प्रहरीले उनको साथबाट डाइजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुल बरामद गरेको जनाएको छ । उनलाई बिहीबार राति पक्राउ गरिएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।