Dhulikhel Eco Banner new

आर्थिक चुनौतीबीच सुधारका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री वाग्लेको भनाइ

1.12K
shares

काठमाडौं, ४ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकले आर्थिक तथा बाह्य चुनौती सामना गरिरहेका बेला पनि सरकारले आर्थिक सुधारका कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले तत्कालीन आर्थिक समस्या व्यवस्थापनसँगै अर्थतन्त्रका संरचनागत कमजोरी सुधार गर्ने काम अघि बढाइएको बताए।

उनका अनुसार आर्थिक विकासका लागि नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र उत्पादनशील क्षेत्रको विस्तार आवश्यक छ। सरकारले लगानीकर्ताको विश्वास अभिवृद्धि, सार्वजनिक संस्थाको कार्यसम्पादन सुधार तथा उत्पादनमा आधारित आर्थिक संरचनाको विकासलाई प्राथमिकतामा राखेको उनले बताए।

मन्त्री वाग्लेले लामो समयदेखिको नीतिगत अस्थिरता, प्रशासनिक जटिलता र लगानीसम्बन्धी अवरोधले निजी क्षेत्रको लगानी वातावरण प्रभावित भएको उल्लेख गरे। उनका अनुसार व्यवसायीहरू नयाँ लगानीसम्बन्धी निर्णय गर्नुअघि विद्यमान परिस्थितिको मूल्याङ्कन गर्ने अवस्थामा छन्।

निजी क्षेत्रको लगानी र व्यावसायिक गतिविधि विस्तारका लागि सरकारले लगानीको वातावरण सुधार तथा व्यवसायीको विश्वास अभिवृद्धिमा काम गरिरहेको उनले बताए।

नेपालको अर्थतन्त्र आन्तरिक समस्याका अतिरिक्त अन्तर्राष्ट्रिय घटनाक्रमबाट पनि प्रभावित भइरहेको मन्त्री वाग्लेको भनाइ थियो। उनले विश्वव्यापी द्वन्द्व, ऊर्जा बजारमा हुने उतारचढाव, आपूर्ति शृङ्खलामा देखिएका अवरोध तथा बाह्य आर्थिक दबाबलाई आर्थिक गतिविधिमा प्रभाव पार्ने कारकका रूपमा उल्लेख गरे।

त्यसैगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले भौतिक पूर्वाधार, आर्थिक गतिविधि र स्थानीय जनजीवनमा असर पारेको उनले बताए।

मन्त्री वाग्लेले सरकारका सामु विपद् व्यवस्थापन र तत्कालीन आर्थिक समस्या समाधान गर्नुका साथै अर्थतन्त्रमा विद्यमान संरचनागत कमजोरी सम्बोधन गर्ने चुनौती रहेको उल्लेख गरे। यी दुवै विषयमा समानान्तर रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।

उनले आर्थिक सुधारका कार्यक्रममार्फत अर्थतन्त्रलाई उत्पादनमुखी, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने सरकारको नीति रहेको बताए।