Dhulikhel Eco Banner new

काठमाडौंमा अघोषित लोडसेडिङको झल्को, प्राधिकरण मौन

1.04K
shares

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो समय विद्युत् सेवा पटक–पटक अवरुद्ध हुन थालेपछि उपभोक्ताले सास्ती खेप्नुपरेको छ । चिसो बढेसँगै विद्युत् माग बढिरहेको अवस्थामा आपूर्ति भने अनियमित हुँदा सर्वसाधारणदेखि उद्योग, व्यवसाय र कार्यालयसम्म प्रभावित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा पूर्वजानकारीबिनै विद्युत् कटौती गर्ने गरेको उपभोक्ताको गुनासो छ । कहिलेकाहीँ केही मिनेटमै विद्युत् आउने गरे पनि कतिपय अवस्थामा घण्टौँसम्म आपूर्ति बन्द हुँदा दैनिक कामकाज प्रभावित हुने गरेको उनीहरू बताउँछन् ।

प्राधिकरणले विद्युत् लाइन तथा ट्रान्सफर्मर स्तरोन्नति र तार भूमिगत गर्ने कार्यका लागि सार्वजनिक सूचना जारी गरेर विद्युत् सेवा अवरुद्ध गर्ने गरेको छ । तर, पछिल्लो समय यस्ता कामबाहेक पनि पटक–पटक विद्युत् जाने समस्या देखिएको उपभोक्ताको भनाइ छ ।

काठमाडौंको घट्टेकुलोकी सीता आचार्यले विद्युत् अनियमितताले दैनिक जीवन प्रभावित भएको बताइन् । उनका अनुसार बिना जानकारी विद्युत् काटिने र पुनः कहिले आउँछ भन्ने निश्चित नहुँदा उपभोक्ताले हैरानी बेहोर्नुपरेको छ ।

विद्युत् झ्याप्प–झ्याप्प जाने समस्याले उद्योग, व्यवसाय तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन् । विशेषगरी बिहान र बेलुकाको व्यस्त समयमा विद्युत् अवरुद्ध हुँदा काममा बाधा पुग्नुका साथै विद्युतीय उपकरण सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

विद्युत् सेवा अनियमित भइरहे पनि नेपाल विद्युत् प्राधिकरणले यसबारे स्पष्ट जानकारी नदिएको उपभोक्ताको आरोप छ । विद्युत् कटौतीको कारण, समय र आपूर्ति नियमित गर्ने योजनाबारे प्राधिकरणले उपभोक्तालाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युतबाबु घिमिरेसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

पछिल्लो समय बढ्दै गएको विद्युत् माग र आपूर्ति व्यवस्थापनबीचको असन्तुलनले उपत्यकाको विद्युत् सेवामा समस्या देखिएको उपभोक्ताको गुनासो छ । यस्तो अवस्थामा विद्युत् सेवा अनियमित हुनु प्राविधिक समस्या मात्र हो वा अघोषित लोडसेडिङको संकेत भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।