Dhulikhel Eco Banner new

गोल्यान फाउन्डेसनले बालबालिकासँग मनायो बाल दिवस, खेलकुद र मनोरञ्जनमा रमाए बालबालिका

689
shares

काठमाडौं, ६ मंसिर । गोल्यान ग्रुपको सामाजिक पहल गोल्यान फाउन्डेसनले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

बानेश्वर हाइट्सस्थित गोल्यान टावरमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका सहिदका सन्तान तथा गोल्यान ग्रुपमा कार्यरत कर्मचारीका बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न खेलकुद, फेस पेन्टिङ, माटोबाट आकृति बनाउने गतिविधि तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । बालबालिकाबीच आपसी मित्रता, अन्तरक्रिया र खुसी साटासाट गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा गोल्यान फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैरेहले बालबालिकासँगै विभिन्न गतिविधिमा सहभागी हुँदै उनीहरूलाई ठूला सपना देख्न र आफूमा विश्वास गर्न प्रेरित गरेकी थिइन् । कार्यक्रममा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानको समेत उपस्थिति रहेको थियो ।

फाउन्डेसनले सहिदका सन्तानको शिक्षामा निरन्तर सहयोग गर्दै आएको छ । हाल ३१ जना बालबालिकालाई कक्षा १२ सम्मको छात्रवृत्ति उपलब्ध गराउँदै आएको फाउन्डेसनले जनाएको छ । जसअन्तर्गत प्रतिविद्यार्थी वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्मको शैक्षिक खर्च व्यहोर्ने गरिएको छ ।

विभिन्न पृष्ठभूमिका बालबालिकालाई एउटै स्थानमा भेला गराई अर्थपूर्ण र मनोरञ्जनात्मक गतिविधिमार्फत आपसी सम्बन्ध र मित्रता अभिवृद्धि गर्ने गोल्यान फाउन्डेसनको निरन्तर प्रयासअन्तर्गत यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो ।