Dhulikhel Eco Banner new

आरएसडीसी लघुवित्तको ९.४० प्रतिशत नगद लाभांश प्रस्ताव, पुस ३ गते साधारणसभा

663
shares

काठमाडौं, ७ मंसिर । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस ३ गते रुपन्देहीको बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ९.४० प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।

संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले हुन आउने ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश रकममा करसमेत समावेश छ ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर १७ गतेसम्म कायम सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।