Dhulikhel Eco Banner new

काठमाडौं महानगरले अनामनगरमा अटिजम स्कुल तथा अनुसन्धान केन्द्र बनाउने

1.33K
shares

काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम स्कुल तथा अनुसन्धान केन्द्रको भवन निर्माण गर्ने भएको छ। महानगरपालिकाका अनुसार भवन वडा नम्बर २९ कार्यालय भवनको पूर्वतर्फ निर्माण गरिनेछ।

प्रस्तावित भवन पाँच तलाको हुनेछ। भवनको पहिलो, दोस्रो र तेस्रो तलामा अटिजम स्कुल सञ्चालन गर्ने तथा चौथो तलामा प्रशासनिक एकाइ र अटिजमसम्बन्धी अनुसन्धान केन्द्र राख्ने योजना छ।

भवनमा आठ जनाको क्षमताको लिफ्ट, अपांगमैत्री र्‍याम्प, शौचालय तथा खुला क्षेत्रको व्यवस्था गरिने महानगरपालिकाले जनाएको छ।

भवन निर्माणको प्रारम्भिक लागत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँ अनुमान गरिएको छ। इक्युह्पाथ कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको महानगरपालिकाले जनाएको छ।

निर्माण कार्य २०८३ मंसिर ३ गते सुरु गरी चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवन निर्माणको योजना तयार गर्दा विभिन्न समयमा विज्ञहरूसँग परामर्श गरिएको महानगरपालिकाले जनाएको छ।