युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०८३ मंसिर ८ मंगलवार ११:०३
shares

काठमाडौं, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो ३३औँ वार्षिक साधारणसभा (एजीएम) आगामी मंसिर २३ गते आयोजना गर्ने भएको छ ।
कम्पनीको साधारणसभा काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
युनिलिभर नेपालको १९७औँ सञ्चालक समितिको बैठक सन् २०२६ अक्टोबर ३० मा भर्चुअल माध्यम (माइक्रोसफ्ट टिम्समार्फत भिडियो कल) बाट बसेको थियो । उक्त बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै वितरणयोग्य मुनाफाबाट प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
समाचार तयार पार्दासम्म युनिलिभर नेपालको सेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ४७ हजार ५५१ रुपैयाँ रहेको छ ।

















