Dhulikhel Eco Banner new

सोल्टी होटलले प्रस्ताव गर्‍यो ३६.८४ प्रतिशत लाभांश, २० प्रतिशत बोनस सेयर दिने

299
shares

काठमाडौं, ८ मंसिर । सोल्टी होटल लिमिटेड (SHL) ले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आफ्नो ५२औँ वार्षिक साधारणसभा (एजीएम) आगामी पुस २१ गते आयोजना गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको ३६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा १६.८४२१०५२६ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । सोअनुसार कम्पनीले १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ । उक्त नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर रकमसमेत समावेश गरिएको छ ।

कम्पनीको ५२औँ वार्षिक साधारणसभा पुस २१ गते बिहान १० बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्नेछ ।

कम्पनीले साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर मसान्तसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन सक्नेछन् ।