लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा
वि.सं.२०८३ मंसिर ८ मंगलवार ११:५४
shares

काठमाडौं, ८ मंसिर । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ।
लुम्बिनीको पर्यटनलाई नयाँ ढंगले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजनाअन्तर्गत आज (मंगलबार) देखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको छ। साइकलमार्फत पर्यटकलाई लुम्बिनी आसपासका ग्रामीण बस्ती र सम्पदासँग जोड्ने लक्ष्यसहित तीनवटा फरक दूरीका साइकल मार्ग सञ्चालनमा ल्याइएको हो।
लुम्बिनी होटल संघ र पर्यटन क्षेत्रका सरोकारवालाको पहलमा अघि बढाइएको यो अभियानले लुम्बिनीको पर्यटनलाई धार्मिक दर्शनमा मात्र सीमित नराखी प्रकृति, संस्कृति, स्थानीय जीवनशैली र समुदायको आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्ग विक्रम शाहले पर्यटनको विकास गर्दा वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताए ।
लुम्बिनी र ग्रेटर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोड्दै ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई पर्यटकसमक्ष पुर्याउने प्रयास महत्वपूर्ण रहेको उनको भनाइ थियो।
यस अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय पालिका, होटल व्यवसायी, पर्यटन नेटवर्क र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको शाहले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आनी छोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल र शान्त वातावरणसँग जोड्नुपर्नेमा जोड दिइन । उनले भविष्यमा लुम्बिनी दर्शन गर्न आउने भक्तजनले समेत साइकल प्रयोग गरेर तीर्थस्थलको भ्रमण गर्न सके वातावरण थप स्वच्छ र शान्त बन्ने बताइन ।
गाडीको अत्यधिक प्रयोग, होहल्ला र भिडभाडले लुम्बिनीको शान्त वातावरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले तीर्थयात्रालाई सहज, शान्त र आध्यात्मिक अनुभूतिसँग जोड्नुपर्ने धारणा राखिन । साइकल स्वास्थ्यका लागि पनि लाभदायक रहेको भन्दै उनले यात्रामा सहभागी सबैलाई सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरिन ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण, सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि अभियानले सकारात्मक भूमिका खेल्ने बताइन । यसलाई सफल बनाउन स्थानीय सरकार, लुम्बिनी विकास कोष, होटल व्यवसायी र पर्यटन क्षेत्रका सबै पक्षबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो।
लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनीको वास्तविक पहिचान पर्खालभित्र मात्रै सीमित नरहेको बताए । लुम्बिनीको पर्खालबाहिर पनि संस्कृति, सम्पदा, परम्परा, खाना र मौलिक जनजीवन रहेको भन्दै उनले ती पक्षलाई विश्व पर्यटन बजारसम्म पुर्याउनु आवश्यक रहेको उल्लेख गरे ।
पर्यटक गाउँसम्म पुग्न थालेपछि स्थानीय उत्पादनको बिक्री बढ्ने, हस्तकलाले बजार पाउने, गाउँघरमा चिया, कफी तथा स्थानीय परिकारको व्यवसाय विस्तार हुने र स्थानीय बासिन्दाले आतिथ्य सेवाबाट आम्दानी गर्न सक्ने उनको विश्वास छ।
तीन रुट, तीन फरक अनुभव
लुम्बिनीको वडा नम्बर १० बाट विकास गरिएका तीनवटा साइकल मार्गले पर्यटकलाई फरक–फरक अनुभव दिनेछन्।
पहिलो मैत्रीमार्ग आठ किलोमिटर लामो छ । दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यो मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन र ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । स्थानीय हस्तकला केन्द्रसम्म पुग्ने यो मार्ग साइकल यात्रा सुरु गर्ने नयाँ पर्यटकका लागि सहज मानिएको छ ।
दोस्रो, प्रज्ञा मार्ग १६ किलोमिटर लामो छ । चारदेखि पाँच घण्टा लाग्ने यो यात्रामा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । यस मार्गमा कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलसमेत समेटिएका छन्।
तेस्रो, करुणा मार्ग २४ किलोमिटर लामो छ । सातदेखि आठ घण्टासम्म लाग्ने यो मार्गले पर्यटकलाई लुम्बिनीको अझ भित्री ग्रामीण परिवेशसम्म पुर्याउँछ। नदी पारका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलहरू यस यात्राका आकर्षण हुन्।
यी तीनवटै मार्गले लुम्बिनी आउने पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विश्वास गरिएको छ।
लुम्बिनीलाई विश्वले बुद्धको जन्मस्थलका रूपमा चिन्छ । तर यसको आसपासको ग्रामीण जीवन, मौलिक संस्कृति, परम्परा र सम्पदा पनि उत्तिकै महत्वपूर्ण छन्। साइकल यात्राको यो सुरुवातले ती सम्पदालाई चिनाउने र पर्यटनको लाभ गाउँसम्म पुर्याउने अवसर सिर्जना गर्न सक्छ ।
लुम्बिनी घुम्न आउने पर्यटक केही घण्टा वा एक दिन थप गाउँमा बिताउन थाले भने त्यसको प्रत्यक्ष लाभ स्थानीय होटल, होमस्टे, हस्तकला व्यवसायी, किसान र साना उद्यमीले पाउनेछन्। त्यसैले यो अभियान साइकल चलाउने कार्यक्रम मात्रै नभई लुम्बिनीको पर्यटनलाई समुदायसँग जोड्ने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने नयाँ प्रयासका रूपमा हेरिएको छ।

















