Dhulikhel Eco Banner new

नेप्से परिसूचक १५.३९ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ५५ करोड नाघ्यो

897
shares

काठमाडौं, ८ मंसिर । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि सामान्य अंकले बढेको बजारले मंगलबारको कारोबारमा समेत वृद्धि कायम गरेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.८६ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंकले वृद्धि भएका छन्।

परिसूचकसँगै मंगलबार शेयर कारोबार रकम पनि बढेको छ। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३५० वटा स्टकको ५२ हजार ३८७ पटकको कारोबारबाट ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ बराबरका १ करोड ४६ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

यस दिन एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सोल्टी होटलले २० प्रतिशत बोनस शेयर र १६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको विवरणसमेत सार्वजनिक भएको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने दुई वटाको घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको परिसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ। यस दिन लघुवित्त र अन्य उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ।