सर्वसाधारणका लागि ‘नबिल ग्रोथ फण्ड’ को साढे ८ करोड इकाई खुल्यो
वि.सं.२०८३ मंसिर ९ बुधवार ०९:५२
364
shares
shares

काठमाडौँ — नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज (मंसिर ९) देखि ‘नबिल ग्रोथ फण्ड’ का इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गरिएको हो।
कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पुँजीका रूपमा छुट्याइएको छ। जसमा कोष प्रवर्द्धक नबिल बैंकलाई १ करोड ४० लाख (१४ प्रतिशत) र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई १० लाख (१ प्रतिशत) इकाई सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि खरिद आवेदन दिन सक्नेछन्।
१० वर्ष अवधिको यो बन्दमुखी योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। छिटोमा मंसिर १४ गते बैंकिङ समयपछि बिक्री बन्द हुने भए पनि सो अवधिसम्म पूर्ण आवेदन नपरे मंसिर २३ गतेसम्म म्याद लम्बिनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ को अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। निष्काशनको कम्तीमा ५० प्रतिशत (५ करोड इकाई) बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र रकम फिर्ता गरिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ।
यस योजनाको क्रेडिट रेटिङतर्फ केयर रेटिङ नेपालले नबिल बैंकलाई ‘केयर एनपी सिंगल ए प्लस’ र योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ दिएको छ।

















