Dhulikhel Eco Banner new

सर्वसाधारणका लागि हिम पर्वत हाइड्रोपावरको साढे ३४ लाख कित्ता आईपीओ आउँदै

338
shares
हिम पर्वत हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि मंसिर १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न भइसकेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत बराबरको ५९ लाख १५ हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीयलाई १६ लाख ९० हजार, वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख २२ हजार ५ सय र सामूहिक लगानी कोषलाई २ लाख ११ हजार २ सय ५० कित्ता बाँडफाँट भइसकेको छ। कर्मचारीका लागि १ लाख २६ हजार ७ सय ५० कित्ता सुरक्षित राखेपछि बाँकी ३४ लाख ६४ हजार ५ सय कित्ता (३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको) सेयर सर्वसाधारणमा बिक्री खुला गर्न लागिएको हो।
प्रतिकित्ता १०० रुपैयाँ दरको उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन भर्न पाउनेछन्। छिटोमा मंसिर २३ गते बन्द हुने बिक्री अवधि मागबमोजिम आवेदन नपरे पुस ३ गतेसम्म लम्बिनेछ। निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीअन्तर्गत हाल दुईवटा जलविद्युत आयोजना व्यावसायिक उत्पादनमा छन्। कुल ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ लागतको २० मेगावाट क्षमताको साँगु खोला आयोजनाबाट २०८२ असोज २५ देखि र १ अर्ब १५ करोड ४ लाख रुपैयाँ लागतको ५.५ मेगावाट क्षमताको साँगु खोला–१ आयोजनाबाट २०८२ साउन ८ देखि बिजुली उत्पादन भइरहेको छ। दुवै आयोजनाको विद्युत अनुमतिपत्र अवधि २८ वर्ष बाँकी छ।
यस निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।