Dhulikhel Eco Banner new

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि बागमती प्रदेशले ६ अर्ब रुपैयाँ परिचालन गर्ने

247
shares

काठमाडौं, ९ मंसिर । बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा आयोजित समन्वय बैठकमा यस्तो जानकारी दिएका हुन् ।

ललितपुरमा आज आयोजित बैठकमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनःस्थापना तथा आगामी कार्ययोजनाबारे छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण र जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए ।

बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आयोजना गरेको समन्वय बैठकमा मुख्यमन्त्री थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि अन्य क्षेत्रका योजनाको बजेट कटौती गरेर रकम व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार विपद् कोषमा उपलब्ध १० करोड ५ लाख रुपैयाँ तत्कालीन खर्चका लागि आवश्यक पर्ने भएपछि चालु बजेटमा समावेश विभिन्न मन्त्रालयका कम प्राथमिकताका विकास आयोजना कटौती गरी प्रत्येक मन्त्रालयको बजेटबाट १० देखि २० प्रतिशतसम्म रकम पुनःविनियोजन गरिएको छ ।

मुख्यमन्त्री थापा मगरले सडक, पुल तथा प्रभावित भौतिक पूर्वाधारको पुनर्निर्माण, बस्ती व्यवस्थापन र व्यवसायको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइने बताए । प्रभावित नागरिकको माग र आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरी योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

विपद् व्यवस्थापन र पुनर्निर्माणका विषयमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तीनै तहले छुट्टाछुट्टै ढंगले काम गर्दा अपेक्षित नतिजा हासिल गर्न नसकिने बताए ।

प्रदेश सरकार विपद् प्रभावित नागरिकको पीडाप्रति गम्भीर रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले सीमित स्रोतसाधनका बाबजुद उद्धार, राहत तथा व्यवस्थापनमा स्थानीय जनप्रतिनिधिले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले वास्तविक समस्याको पहिचान गरी व्यवस्थित रूपमा पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाउनुपर्ने बताए । बजेटबाट के–कति काम गर्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले विपद् व्यवस्थापनसम्बन्धी काम समयमै अघि बढाउन नसकिए स्थानीय तहको निर्वाचनका कारण पुनर्निर्माण र पुनःस्थापनाका मुद्दा ओझेलमा पर्न सक्ने भन्दै समयमै योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।

बागमती प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक, नतिजामुखी मोडल अपनाउनुपर्ने बताए ।

उनले मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनलाई पुनःस्थापनाका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए ।

विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक परामर्श, सीपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत उनले दिए ।

बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ र रमेश कुमार महतसहित रसुवा र नुवाकोटका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा अन्य सरोकारवालाले आ–आफ्नो क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए ।