मेची भन्सारले कार्तिकमा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व संकलन
वि.सं.२०८३ मंसिर ९ बुधवार ११:०९
shares

काठमाडौं, ९ मंसिर । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कार्तिक महिनामा राजस्व संकलनको लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व उठाएको छ ।
कार्यालयले कार्तिक महिनामा १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो । यो लक्ष्यको ११० प्रतिशत उपलब्धि भएको कार्यालयका सूचना अधिकारी मानकलाल राईले जानकारी दिए ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन । साउनमा १ अर्ब ४४ करोड रुपैयाँ लक्ष्य रहेकोमा १ अर्ब २८ करोड रुपैयाँ, भदौमा १ अर्ब ६४ करोड लक्ष्य रहेकोमा १ अर्ब ५५ करोड रुपैयाँ र असोजमा १ अर्ब ८५ करोड रुपैयाँ लक्ष्य रहेकोमा १ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
भारतको पश्चिम बंगालस्थित पानीट्यांकीसँग सीमा जोडिएको काँकडभिट्टा भन्सार नाका नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यस नाकाबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, तयारी पोसाक, सिमेन्ट क्लिंकर, चामललगायत वस्तु आयात हुने गर्छन् ।
त्यस्तै, चिया, ठूलो अलैंची, अदुवा, दाल, जडीबुटी तथा प्लाइउडजस्ता वस्तु निर्यातका लागि पनि यो नाका महत्वपूर्ण मानिन्छ । यस भन्सार नाकाले भारत, चीन, बंगलादेश र भुटानसँगको व्यापार सहजीकरण गर्दै आएको छ ।

















