पत्रकार भूपाल लुइँटेललाई गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार
वि.सं.२०८३ मंसिर ९ बुधवार ११:१३
shares

काठमाडौं, ९ मंसिर । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्राप्त गरेपछि प्रतिक्रिया दिँदै लुइँटेलले यो पुरस्कार तथा सम्मानले आफूलाई खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताए । पत्रकारितामा प्राप्त सम्मानलाई आफ्नो कामप्रतिको दायित्व थपिएको रूपमा लिएको उनको भनाइ थियो ।
उनले पत्रकारिता क्षेत्रमा चर्चाको शिखरमा पुगेका र बदनामीको गहिराइमा झरेका दुवैथरी व्यक्तिको अनुभव गरेको उल्लेख गर्दै आफू यी दुवै अवस्थाबाट जोगिएर निरन्तर कर्ममा लाग्न चाहेको बताए ।
‘मेरै जीवनकालमा मैले चर्चाको शिखर चुमेका मानिसहरूदेखि लिएर यही क्षेत्रमा लागेर बदनामीको गहिराइसम्म पुगेका मानिसहरूको पनि अनुभूति गरेको छु । म यी दुवै चिजबाट जोगिन चाहन्छु । न त्यो उचाइमा पुग्न चाहन्छु, न बदनामीको गहिराइसम्मै पुग्न चाहन्छु । म जे छु, ठीक अवस्थामा छु,’ उनले भने ।
उनले आफूलाई आवश्यकताभन्दा बढी प्रशंसा नगर्न आग्रह गर्दै विगतका अनुभवबाट सिकेर आफ्नो काममा निरन्तर लाग्नुपर्ने धारणा राखे । पुरस्कार ग्रहणपछि पत्रकारितामा प्रविधिको विकास र कृत्रिम बुद्धिमत्ता (एआई) ले थपेका चुनौतीबारे पनि उनले धारणा राखे । गुटेनबर्गको छापाखानादेखि आधुनिक छपाइ प्रविधि र मोबाइल पत्रकारितासम्म आइपुग्दा पत्रकारिताको स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्षमा प्रभाव पार्न सक्ने बताए ।
एआईको अत्यधिक प्रयोगले पत्रकारको बौद्धिक क्षमता, सिर्जनशीलता र अन्तर्वार्ता गर्ने सीपसमेत विस्थापित गर्न सक्ने चिन्ता व्यक्त गर्दै उनले यसको प्रयोग र दुरुपयोगबारे समयमै बहस र नियमन आवश्यक रहेको बताए ।
एआईको विकासले पत्रकारिता क्षेत्रमा पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रीसमेत उपस्थित रहेकाले पत्रकारितासँग सम्बन्धित नीतिगत चुनौतीलाई सरकारले सम्बोधन गर्ने विश्वास उनले व्यक्त गरे । उनले प्रविधिको विकाससँगै पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र मानवीय संवेदनशीलता जोगाउनुपर्ने आवश्यकतासमेत औँल्याए ।

















