Dhulikhel Eco Banner new

भिसासँगको सहकार्यमा सिद्धार्थ बैंकले विस्तार गर्ने भयो कार्ड तथा डिजिटल भुक्तानी सेवा

377
shares

काठमाडौं, १० मंसिर । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी संस्था भिसाबीच बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवालाई सुदृढ गर्ने उद्देश्यले रणनीतिक सम्झौता भएको छ ।

सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको दायरा विस्तार गर्नुका साथै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको छ ।

सम्झौताका सम्बन्धमा सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यस सहकार्यले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण आधार तयार गरेको बताए ।

उनले यस रणनीतिक सहकार्यमार्फत भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा थप योगदान पुर्‍याउने लक्ष्य रहेको बताए ।

त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्यले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए ।

यस सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै थप आकर्षक सुविधा र विशेष अफरहरू ल्याउने योजना बनाएको छ ।

यस सहकार्यले नेपालको विकासोन्मुख कार्ड तथा डिजिटल भुक्तानी क्षेत्रमा बैंकको उपस्थितिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।