Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्त र एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

247
shares

काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबी बैंक लिमिटेडले प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै संस्थाले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।

ग्लोबल आइएमई लघुवित्तको ९.५ प्रतिशत लाभांश

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको ९.५ प्रतिशत लाभांश पारित गर्न मंसिर २३ गते आफ्नो १४औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा पोखराको लेकसाइडस्थित आइएमई हस्पिटालिटी प्रालिमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको २३०औँ बैठकले चुक्ता पुँजी ६४ करोड ८२ लाख रुपैयाँका आधारमा कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांशमध्ये ३ करोड ८८ लाख रुपैयाँ बराबरको ६ प्रतिशत बोनस सेयर र २ करोड २६ लाख रुपैयाँ बराबरको ३.५० प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट दुई जना सञ्चालक निर्वाचित गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डासमेत सभामा प्रस्तुत गरिनेछ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १० गतेसम्म सेयर कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।

एनएमबी बैंकको ७ प्रतिशत लाभांश

यस्तै, एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने पनि आजै अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले आफ्नो ३१औँ वार्षिक साधारणसभा मंसिर २५ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे बोलाएको छ ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको ५१७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीका आधारमा ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश करसहित १ अर्ब ३४ करोड रुपैयाँ बराबरको हुनेछ । हाल बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश रकम १२ करोड २० लाख रुपैयाँ बराबरको रहेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने र आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस हुनेछ ।

बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मंसिर १० गतेसम्म सेयर कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।