Dhulikhel Eco Banner new

हिमालयन लघुवित्तले बोलायो १५औँ साधारणसभा, ५ प्रतिशत लाभांश वितरण प्रस्ताव

195
shares

काठमाडौं, १० मंसिर । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

लघुवित्तले आगामी पुस ८ गते बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा साधारणसभा बोलाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसअनुसार लघुवित्तले कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेस हुनेछ । मर्जर तथा एक्विजिशनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश छन् ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन सक्नेछन् ।