Dhulikhel Eco Banner new

स्वास्थ्य बीमामा डिजिटल कार्डबाटै उपचार सेवा, भौतिक परिचयपत्र अनिवार्य नहुने

234
shares

काठमाडौं, १० मंसिर । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिन अब भौतिक स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य नहुने भएको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्डमार्फत पनि सेवा लिन सकिने व्यवस्था गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई डिजिटल कार्डको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

परिपत्रअनुसार स्वास्थ्य बीमामा आबद्ध बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न भौतिक स्वास्थ्य बीमा परिचयपत्र, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने फोटोकपी पेस गर्न सक्नेछन् ।

त्यस्तो अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थाले कार्डमा उल्लेख भएको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ । त्यसपछि बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवा प्रवाह गर्न बोर्डले निर्देशन दिएको छ ।

बोर्डले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएको कारणले मात्रै बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्नसमेत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्पष्ट निर्देशन दिएको छ ।

यस व्यवस्थासँगै स्वास्थ्य बीमामा आबद्ध नागरिकले भौतिक परिचयपत्र साथमा नबोकी डिजिटल कार्ड वा आवश्यक विवरणका आधारमा स्वास्थ्य सेवा लिन सक्नेछन् ।