Dhulikhel Eco Banner new

मूल्य वृद्धि १४ प्रतिशत पुग्छ : राष्ट्र बैंक

6.32K
shares

काठमाडौं, ९ साउन । नेपालमा मूल्य वृद्धि अझै बढ्ने नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंले सार्वजनिक गरेको ‘मुद्रास्फीति अपेक्षा सवेक्षण’ अनुसार आगामी तीन महिना पछि मूल्यवृद्धि १४ प्रतिश पुग्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको जनाएको छ । प्रस्तुत परिणामहरू १ हजार १४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका छन् ।

सर्वेमा सहभागी ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

प्रतिवेदन अनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ ।

एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।