Dhulikhel Eco Banner new

एक आर्थिक वर्षमा १९ खर्बको आयात हुँदा २ खर्ब मात्रै निर्यात

4.1K
shares

काठमाडौं, ९ साउन । नेपालको वैदेशिक व्यापार २१ खर्ब बढी पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार २१ खर्ब २१ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलानामा २६.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड बराबरको रहेको थियो । भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापारमा ९.४३ प्रतिशत मात्रै निर्यातको हिस्सा रहेको छ भने ९०.५७ प्रतिशत आयात रहेको छ । जसबालट नेपालको व्यापार घाटा उच्च बन्न पुगेको हो ।

नेपालले गत आर्थिक वर्षमा १९ खर्बभन्दा बढी मूल्यको बस्तु आयात गरेको छ । नेपालमा गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकी यो अवधिमा नेपालबाट जम्मा २ खर्ब ३० करोडको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

यसरी हेर्दा नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ बराबर हरेको छ । यो नेपालको चालू आर्थिक वर्षको बजेट कै हाराहारीको व्यापार घाटा हो । नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।