Dhulikhel Eco Banner new

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो त्रैमासमा ६४ करोड नाफा, कर्जा विस्तारसँगै आम्दानी वृद्धि

442
shares

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो त्रैमासको तुलनामा उल्लेख्य सुधार देखिएको छ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो अवधिमा करिब ७४ करोड रुपैयाँ थियो। कर्जा प्रवाह विस्तारसँगै ब्याज आम्दानीमा वृद्धि हुँदा समग्र आम्दानीमा सकारात्मक प्रभाव परेको देखिन्छ। बैंकको कुल सञ्चालन आम्दानी पनि बढेर १ अर्ब १० करोड रुपैयाँभन्दा माथि पुगेको छ।

यस अवधिमा बैंकको कुल सम्पत्ति ४१ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। कर्जा तथा अग्रिम लगानी उल्लेख्य रूपमा बढ्दै २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने लगानीतर्फ पनि विस्तार देखिएको छ। बैंकले पूर्वाधार क्षेत्रका परियोजनामा लगानी विस्तार गर्दै गएको जनाएको छ।

बैंकको सञ्चालन नाफा ९२ करोड रुपैयाँ नजिक पुगेको छ भने करअघिको नाफा पनि सोही हाराहारीमा रहेको छ। कर कट्टापछि बैंकले ६४ करोडभन्दा बढी खुद नाफा कायम गर्न सफल भएको हो। नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा करिब ५३ करोड रुपैयाँ रहेको छ।

वित्तीय सूचकतर्फ हेर्दा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने इक्विटीमा प्रतिफल ३.३८ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.०७ प्रतिशत रहेको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) दर ०.२१ प्रतिशत मात्रै रहेकाले सम्पत्ति गुणस्तर सन्तोषजनक रहेको देखिन्छ।

बैंकले परियोजना अनुगमन, नयाँ लगानी अवसरको खोजी तथा सार्वजनिक–निजी साझेदारीका पूर्वाधार परियोजनामा लगानी विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ। साथै, बजारमा देखिएको ब्याजदर उतारचढाव, कच्चा पदार्थको मूल्य वृद्धि तथा आर्थिक मन्दी जस्ता चुनौतीहरूलाई व्यवस्थापन गर्दै अघि बढ्ने उल्लेख गरिएको छ।

संस्थागत सुशासनतर्फ बैंकले नियामकीय निर्देशनहरू पूर्ण रूपमा पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ। आगामी दिनमा पूर्वाधार विकास क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य बैंकले राखेको छ।