कारोबार रोक्का भएको कम्पनीको शेयरमा सर्किट
वि.सं.२०७९ साउन १३ शुक्रवार १४:५४
shares

काठमाडौं, १३ साउन । शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन नेप्सेमा अनौठो घटाना देखियो । मर्जर प्रक्रियामा गएकाले शेयर कारोबार रोक्का भएको एक कम्पनीको शेयर मूल्यले सर्किट ब्रेक लगायो त्यो पनि सकारात्मक । कुनै पनि कम्पनीको शेयर मूल्यमा १० प्रतिशको घटबढ हुँदा सर्किट लगाउनु पर्ने हुन्छ ।
मर्जर प्रकृयामा रहेको रिलायन्सलाइफ इन्स्योरेन्सको शेयर मूल्यले शुक्रबार सकारात्मक सर्किट कायम गरेको हो । इन्स्योरेन्सले असार २९ गते सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कम्पनीको शेयर कारोबार रोक्का गरिएको थियो । तर, मर्जर प्रकिया शुरु भएको १५ दिन नबित्दै शुक्रबार रिलायन्स लाइफको शेयर कारोबार नेप्सेले खुला गर्यो । सो दिन कम्पनीको शेयर ३ सय ३५ रुपैयाँबाट शुरु भई ३ सय ६८ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको हो ।
मर्जरको प्रकृयामा रोक्का गरिएको कम्पनीको कारोबार हुनुमा नेप्सेले आफ्नो गल्ती स्वीकारेको छ । नेप्सेले एक सूचना आफ्नो गल्ती स्वीकार गरेको हो । ‘गाभ्ने र गाभिने प्रकृयामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा नेप्सेमा उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधा प्रति नेप्से क्षमा प्रार्थी छ,’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।

















