Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै करिब ४ गुणा आवेदन

4.75K
shares

काठमाडौं, १३ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा ३ दशमलव ८४ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले शुक्रवारदेखि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा प्रतिकित्ता १०० रूपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । शेयर किन्नका लागि साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयमा सबै शेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो शेयरमार्फत् अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको बिक्री प्रबन्धकमाा एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात पूँजी ३० करोड पुग्नेछ ।