Dhulikhel Eco Banner new

छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’

6.49K
shares

काठमाडौं, २५ साउन । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।

मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७÷७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।

मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आउएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट आठ लाख अनुदान पाएपछि आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिए। “कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरु कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेको छ”, उनले भने।

सरकारले मुस्ताङलाई स्याउ जोनका रुपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि सो जिल्लाका स्याउ कृषकहरु हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरुलाई सजिलो भएको किसान गुरुङले बताए ।

स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवाहरु र ढुवानी तथा औषधोपपचारका लागि भनेर ३५ हजार पनि अनुदान पाएको उनको भनाइ छ ।

मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिकरुपमा स्याउ खेती गरिएको छ । करिब छ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरुको भनाइ रहेको छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।