लघुवित्तविरुद्ध अवैध संगठन, संस्थाको बद्नाम गराउन मिटरब्याजी सक्रिय !
वि.सं.२०७९ साउन २८ शनिवार ११:१३
shares

काठमाडौं, २८ साउन । अहिले लघुवित्त वित्तीय संस्थाका विरुद्धमा संघर्ष समिति नै बनाएर एउटा समूह अवैध रुपमा चन्दा अलुसीमा सक्रिय रहेको पाइएको छ । कुनै निकायमा आधिकारिक रुपमा दर्ता समेत नभई सञ्चालनमा रहेको उक्त संघर्ष समितिले लघुवित्त संस्थाका सदस्यहरुलाई सदस्य बनाउने भन्दै रकम असुली गर्ने गरेको पाइएको हो ।
लघुवित्त संस्थाहरुबाट ऋण लिएकाहरुलाई ऋण मिनाहा गराइदिने प्रलोभन देखाएर संघर्ष समितिमा आवद्ध हुन अनुरोध गर्ने गरेको लघुवित्तकर्मीहरुले बताएका छन् । केही दिन अघि कपिलवस्तुको शिवराज नगरपालिकाका मनिराम कोटीसँग समितिले सदस्यता शुल्क भन्दै ५ सय रुपैयाँ लिएको थियो । अन्य धेरै सदस्यहरुबाट संघर्ष समितिको प्रतिनिधि भन्दै शिव परियार नाम गरेका व्यक्तिले रकम उठाउने गरेको लघुवित्तकर्मीहरुले बताएका छन् ।
लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्साल संघर्ष समितिका नाममा गैरकानूनी काम भइरहेको बताउछन् । यसलाई तत्कालै रोक्नु पर्ने उनले बताए । संघर्ष समितिले केही समय अघि काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर लघुवित्त संस्थाहरु खारेज हुनुपर्ने बताएको थियो ।
लघुवित्त अभियानका एक अभियान्ता तेजेन्द्र शर्मा लम्साल मिटरब्याजीहरु पहिलेदेखि नै लघुवित्तको बद्नामा गराउन सक्रिय रहेको बताउछन् । अब कानूनी कारबाहीको बाटो रोज्नु पर्ने लम्सालले बताए ।
‘लघुवित्त कार्यक्रम जोगाउन संचालकहरुको संस्था र सिइओहरुको संस्थाले एउटा वक्तव्य निकालेर मात्रै हुदैन्’ उनले भने, ‘यस्ता अराजक समूहहरुलाई प्रशासनको सहयोग लिएर कारबाही गर्नुपर्छ ।
संघले पनि यसको विरोध भने गरिरहेको छ । लघुवित्त बैंकर्स संघले यसको विरोधमा तत्कालै विज्ञप्ति समेत निकालेको थियो । लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजर अन्जार गर्दै यस क्षेत्रको बदनाम गर्ने उद्देश्यप्रति ध्यानाकर्षण भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ ।
‘लघुवित्त संस्थाहरूको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुँचमा वाधा पुर्याउने उद्देश्यले केही निहित स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमबाट समग्र लघुवित्त वित्तीय संस्थाहरू प्रति लगाएको भ्रामक आरोपहरू प्रति लघुवित्त वित्तीय संस्थाहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
विभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा र कपोलकल्पित घटना भएको भन्दै संघले समग्र लघुवित्त वित्तीय संस्थाहरूलाई लगाइएका सम्पूर्ण आरोपहरू प्रति यस संघ खेद प्रकट गरेको छ ।
कपोलकल्पित रूपमा भनिएका घटनाहरू र लगाईएका सम्पूर्ण आरोपहरूको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग समेत संघले गरेको छ ।
लघुवित्तीय संस्था विरूद्धको संघर्ष समिति नामको अवैधानिक संगठनको आडमा केही व्यक्तिहरूले आफ्ना ग्राहकहरूलाई उक्त समितिको सदस्यता प्रदान गर्ने भनी अवैधानिक तवरले रकम असुल गरेको संघले आरोप लगाएको छ ।
लघुवित्तलाई खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋण मिनाहा गर्नुपर्ने जस्ता मागहरू राज्यको प्रचलित नियम तथा कानूनहरूको ठाडो उल्लघंन तथा विपरित देखिएको भन्दै संघले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई यथाशिघ्र कानूनको दायरमा ल्याउन समेत राज्यका सम्बन्धित निकायहरूलाई संघले आग्रह गरेको छ । संघर्ष समितिका प्रतिनिधिहरुलाई सम्पर्कको प्रयास गरे पनि उनीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।

















