Dhulikhel Eco Banner new

चिया निर्यातका समस्या समाधान गर्न विशेष कार्यदल गठन

1K
shares

काठमाडौ, ९ असार । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र ती समस्या समाधान गर्नका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ ।

कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह-सचिव रहनेछन् भने सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई दिइएको छ ।

कार्यदलका सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू रहनेछन् ।

यसका साथै भन्सार विभागका उप-महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उप-सचिव पनि कार्यदलको सदस्यका रूपमा रहेका छन् ।

कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (साता)भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।