Dhulikhel Eco Banner new

बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो

4.84K
shares

काठमाडौं, १५ भदौं । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ ।
सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो ।

यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते भएका छन् । हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । “दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ”, उनले भने, “पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई÷तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।” हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ ।