Dhulikhel Eco Banner new

फर्निचर तथा फर्निसिङ एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता हुँदै

4.78K
shares

काठमाडौं, १६ भदौ । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपाल सहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो ।

एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले एक्स्पोको आन्तरिक तयारी पुरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो ।

संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
“किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,” अध्यक्ष जोशीले भने ।

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । संघका महासचिव अर्जुन घिमिरेका अनुसार ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको उनले बताए । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ ।

प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको बताए ।

बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । यस्तो मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको भन्दै संघले एक्स्पोले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

“नेपाली उत्पादनको प्रवद्र्धन गर्ने, प्रचारप्रसार गर्ने र विदेशबाट आयात हुने वस्तुहरुलाई विस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोले नीति निर्मातालाई घच्घच्याउने अपेक्षा गरेका छौं,” एक्स्पोका संयोजक ओम बस्नेतले भने ।