Dhulikhel Eco Banner new

बैंकहरुबाटै हुन्छ रेमिट्यान्स बचत खाताको दुरुपयोग

डेपुटी गभर्नर भन्छन्– कारबाही गर्छौ

8.66K
shares

काठमाडौं, २४ भदौं । गत पुस १४ गते सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख नविन सुवेदी पक्राउ परे । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो ।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो । प्रहरी अनुसन्धानबाट सीईओ सुवेदीले रेमिट्यान्स बचत खातामा पाइने सुविधाको दुरुपयोग गरेको समेत पुष्टि भएको छ ।

रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउनका लागि भन्दै नेपाल राष्ट्र बैंकले प्रोत्साहनको नीति लिएको थियो । सो नीति अनुसार रेमिट्यान्स खाता खोली बैंक खातामा पठाए साधारण ब्इाजदर भन्दा १ प्रतिशत अतिरिक्त ब्याजदर पाउने नियम छ । साधारण ब्याजदर भन्दा १ प्रतिशत बढी ब्याजदर पाउने भए पछि सीईओ सुवेदी लोभिए ।

उनले बैंकको अन्य खातामा रहेको पैसालाई नातेदारका नाममा रेमिट्यान्स खाता खोली रकम जम्मा गर्ने र ब्याज खाने गरेको प्रहरी अनुसन्धानबाट देखियो । यस्ता घटनाहरु सप्तकोशी डेभलपमेन्ट बैंकमा मात्रै होइन अन्य धेरै बैंकहरुमा हुने गरेको गुनासो आउने गरेको छ । काठमाडौंका तीन वटा वाणिज्य बैंक अहिले पनि यस्तो कार्यक्रमा सक्रिय रहेको राष्ट्र बैंक श्रोत बताउछ ।

अहिले बैंकहरुले बद्मासी गर्नका नीतिगत कमजोरीहरु खोज्ने गरेका छन् । कुनै व्यक्तिले आफै स्वघोषणा गरेको अवस्थामा त्यसलाई बैंकहरुले रेमिट्यान्स बचतमा राखिदिने गरेका छन् । ‘एक बैंकले साधारण भन्दा २ प्रतिशत बढी ब्याजदर दिइएको पाइयो, किन दियो भनेको त रेमिट्यान्स खाता भनेर उल्लेख रैछ’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘त्यस बैंकको विषयमा यहाँ अन्य धेरै उजुरीहरु पनि छन्, निक्षेप तान्नका लागि हाम्रा नीतिको लुप होल खोज्ने गरेको पाइयो ।’

अहिले रेमिट्यान्स खाता खोल्नका लागि खाता खोल्ने मान्छेले स्घोषणा गरे पुग्छ । यहीँ कमजोरीलाई समाएर ३ वटा बैंकले यस्तो बद्मासी गरेका छन् । ति अधिकारीका अनुसार बैंकका कर्मचारी आफैले रेमिट्यान्स खाता भनेर खोल्न मिल्छ भनेर खाता खोलाउने गरेका छन् । यस्तो बद्मासी गर्ने बैंकहरुमा निकै एग्रेसिभ व्यवसाय गरिरहेका बैंकहरु रहेको उनले बताए ।

केही दिन एक सार्वजनिक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स खाता दुरुपयोगका घटनाबारे धेरै गुानासा आउने गरेको बताएका थिए । उनले राष्ट्र बैंकको नीतिमा लुप होल खोजेर काम नगर्न बैंकहरुलाई चेतावनी समेत दिएका छन् ।

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स बचत खातालाई दुरुपयोग गरेको पाइए राष्ट्र बैंकले कारबाही गर्ने समेत बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष पवन कुमार गोल्यान केही बैंक वा त्यहाँ कार्यरत कर्मचारीहरुले रेमिट्यान्स बचत खाताको दुरुपयोग गरेको हुनसक्ने भएपनि सबैले भने नगरेको उनले बताए । कुनै एउटा बैंकले कमजोरी गर्यो भन्दैमा सबैलाई एउटै दाजोमा राख्न नहुने उनको भनाइ छ ।

‘नियम विपरित जसले गर्छ, त्यसलाई त कारबाही गर्ने नै हो’ उनले भने, ‘तर सबैमा यस्तो बद्मासी भएको छ जस्तो मलार्य लाग्दैन ।’ केही बैंकहरुले रेमिट्यान्स खातामा दुरुपयोग गरिरहेको भन्ने कुरा आफूले पनि सुनेको भन्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकको नीति नमान्नेलाई दण्डित गर्नुपर्ने बताए ।

स्वदेशी निक्षेप रेमिट्यान्स खातामा

अहिले केही बैंकहरुले स्वदेशी निक्षेप रेमिट्यान्समा राखेर बद्मासी गर्ने गरेको सूचना केन्द्रीय बैंकसम्म पुगेको छ । बैंकहरुले स्वदेशी निक्षेपलाई रेमिट्यान्स खातामा देखाई साधारण भन्दा १ प्रतिशत ब्याजदर दिने गरेका छन् ।

‘रेमिट्यान्स डिपोजिटमा केही बैंकहरुले गतल अभ्यास गर्दै स्वदेशी निक्षेपलाई पनि रेमिट्यान्स निक्षेप भन्दै बढी ब्याजदर दिने गरेको पाइएको छ’ एक साता अघि नगरकोटमा डेपुटी गभर्नर मिश्रले भनेका छन्, ‘यस्तो बद्मासी गर्ने बैंकहरु कारबाही पर्छन, राष्ट्र बैंकले कारबाही गर्छ ।’ उनले एउटा स्रोतको निक्षेपलाई अर्कै स्रोतको निक्षेप मानेर स्वीकार गर्ने अभ्यास रोक्न राष्ट्र बैंकले आवश्यक नीति बनाउने समेत उनले बताएका छन् ।

ब्याजदरको सन्दर्भमा बैंकहरु केही भ्वाइलेन्स भएका देखिएको भन्दै डेपुटी गभर्नर मिश्रले संस्थागत निक्षेपलाई व्यक्तिगत भन्ने, साधारणलाई रेमिट्यान्स भन्दै बढी ब्याजदर दिएको गुनासोका विषयमा राष्ट्र बैंक गम्भीर रहेको उनले बताए । ‘बैंकहरु पनि यस्ता कुरामा सिरियस हुनुपरो, बैंकरहरुले केन्द्रीय बैंकद्वारा जारी नीति निर्देशनहरुमा रुप होल खोज्नु हुँदैन’ उनले भने ।

केही बैंकहरुबाट यस्ता कमजोरीहरु भएको बैंकर मनोज ज्ञवाली बताउछन् । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्र बैंकले ल्याएको नीतिहरुमा भएका ‘लुप होल’ खोजेर बद्मासी हुने गरेको भन्दै केही समय अघि सामाजिक सञ्जालमै लेखेका थिए । यस विषयमा राष्ट्र बैंकले केही नयाँ निर्देशन जारी गर्नु पर्ने आवश्यकता रहेको समेत उनले बताएका छन् ।

‘हालत यस्तो भैसकेको छ की नेपाल राष्ट्र बैंक ले निक्षेप सम्बन्धमा निम्न निर्देशन जारी गरिदिनु पर्यो झै लाग्दैछ’ ज्ञवालीले भनेका छन्, ‘रमिट्यान्सबाट आएको रकम’ भन्नाले …भनेर निर्देशनमै बुझाउनु पर्ने भयो ।’ बैंकहरुले गरेका यस्ता कमजोरीले बैंकिङ क्षेत्रलाई फाइदा नगर्ने उनको भनाइ छ ।

‘परिपत्र मार्फत परिभाषित गरेर आफुलाई गज्जब ‘प्रोफेसनल’ भन्न रुचाउने ‘हामी’ बैंकरलाई सिकाइदिनु पर्यो, ‘हामी’ ले अर्को बैकबाट आफ्नो बैंकमा आएको रकम चै रकमान्तर भयो अनी रकमान्तर भनेको ’रेमिट्यान्स ’ हो बुझ्न थाल्यौ’ उनले भनेका छन् ।