Dhulikhel Eco Banner new

राष्ट्रपति विरुद्ध उपराष्ट्रपतिको विज्ञप्ति, संविधानको सबैले पालना गरौँ

4.42K
shares

काठमाडौं, ५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिका विरुद्ध विज्ञप्ति निकालेका छन् । उपराष्ट्रपतिले निकालेको विज्ञप्तिमा संविधानको प्रमुख पालक र संरक्षकबाट नै संविधानको पालना र संरक्षण हुन नसकेको भनी आवाज उठ्नु ज्यादै दुःखद पक्ष भएको बताएका हुन् ।

दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उपराष्ट्रपति पुनको यस्तो भनाइ आएको हो । उनले बुधबार दिउँसो वक्तव्य निकालेर भनेका छन्– ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो ।

संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको पनि बताए । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालना र संरक्षण गर्न उनको आग्रह छ ।

सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उनले संविधान दिवसका अवसरमा सबैले संविधानको पालना र संरक्षण गर्ने भनी दोहोर्‍याएको प्रतिबद्धताको स्मरण पनि वक्तव्यमा उल्लेख गरेका छन् ।