एक महिने हिन्दू महामिलन पर्व
वि.सं.२०७९ कात्तिक २ बुधवार ११:४०
shares

काठमाडौं, २ कात्तिक । व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ ।
अठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मङ्गलबारदेखि सुरु भएको हो । महामिलन पर्वको उद्घाटन गर्दै विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले व्यासको भूमिलाई विश्वमाझ परिचित गराउन सबैको पहल आवश्यक रहेको चर्चा गरे । व्यासभूमिको प्रचारलाई हाल भइरहेको कार्यको प्रशंसा गर्दै उनले विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलको रुपमा यस ठाउँलाई विकास गर्नुपर्ने धारणा राखे ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासभूमिलाई विश्वमाझ परिचित गराई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए । महामिलन पर्व कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने आयोजकले जनाएको छ । महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ ।
यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएकाले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । ।”

















