विश्वकप फुटबल : आयोजक कतार र इक्वेडर भिड्दै
वि.सं.२०७९ मंसिर ४ आइतवार १९:०९
shares

काठमाडौं, ४ मंसिर । प्रत्यक ४–४ वर्षमा हुने फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२ औँ संस्करणको यो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन् ।
यी दुई टोलि बीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ । आयोजकका हिसावले सिधै र पहिलो पटक विश्वकप खेलिरहेको कतार सुखत सुरुवात गर्ने योजनामा रहने छ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा हुने छ । दुवै टोलि पहिलो खेलमा जित निकाल्दै सुखत सुरुवात गर्ने योजनामा हुनेछन् ।
घरेलु मैदानको फाइदा कतारलाई हुने छ । फिफा बरियता इक्वेडर ४४ औँ स्थानमा रहेको छ भने कतार ५० औँ स्थानमा रहेको टोलि हो । कतार विश्वकपको उद्घाटन खेलमा कतारका फरवार्ड हसन अल हेडोस र इक्वेडरका इनर भ्यालेन्सियालाई प्लेयर्स टु वाचको रुपमा हेरिएको छ ।
आजको खेलमा यी दुई खेलाडीको खेल हेर्न लायक हुने छन् । हसन कतारका सर्वाधिक गोलकर्ता मध्ये एक हुन् । उनलाई यस विश्वकपमा आफ्नो क्षमता देखाउने अवसर रहेको छ । ३१ वर्षीय स्ट्राइकरले कतारका लागि १ सय ६९ खेलमा ३६ गोल गरिसकेका छन् ।
अनुभवी स्ट्राइकर हसन गोल गर्न र गोलका लागि पास उपलब्ध गराउन माहिर छन् । त्यसैले इक्वेडरका डिफेन्डरका लागि उनी खतरनाक हुनेछन् । हसन कतारी क्लब अल सादबाट व्यवसायिक फुटबल खेल्ने गर्छन ।
भ्यालेन्सिया इक्वेडरका अनुभवी फरवार्ड हुन् । कतार विश्वकपमा उनले आफ्नो टोलिको अग्रपंतिको नेतृत्व गर्ने छन् । ३३ वर्षीय स्ट्राइकरसँग युरोपमा फुटबल अनुभव समेत रहेको छ । उनले इक्वेडरका लागि ७४ खेलमा ३५ गोल गरिसकेका छन् ।
उनी जतिबेला पनि कतारी डिफेण्डरका लागि खतरा हुन सक्छन् । भ्यालेन्सिया पछिल्लो समय टर्किस क्लब फेनरवाचबाट व्यवसायी फुटबल खेल्दै आएका छन् । त्यस अघि उनले प्रिमियर लिग क्लब वेस्ट ह्याम र एभर्टनबाट समेत खेलेका थिए । यो समूहमा सेनेगल र नेदरल्यान्ड्स समेत रहेका छन् ।















