गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डको जित निश्चित
वि.सं.२०७९ मंसिर ७ बुधवार १८:४२
shares

काठमाडौं, ७ मंसिर । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई गणना गर्न बाँकी मतभन्दा बढीले पछि पारेका हुन् ।
अब गणना हुने बाँकी सबै मत विपक्षीले पाउँदा पनि अध्यक्ष प्रचण्डलाई पराजित गर्न सक्दैनन् । गोरखा २ मा गणना गर्न बाँकी मत १२ हजार ५७१ रहेको छ भने प्रचण्डले १२ हजार ६ सय १२ मतको अग्रता लिएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् । यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको छ ।















