नेशनल लाइफको साधारणसभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
वि.सं.२०७९ मंसिर १८ आइतवार १४:५६
shares

काठमाडौं, १८ मंसिर । इन्स्योरन्स कम्पनीको ३४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न गरेको हो । सभामा कम्पनीले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक पारित गरेको छ ।
कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ ।
यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन भएको छ ।
प्रस्तावित बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको थियो । त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ ।















